1

¶ अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् ।

2

ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”

3

“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!

4

किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।

5

मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।”

6

उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ?

7

के परमप्रभु हजारौँ भेडाहरुद्धारा, वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ?

8

ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड ।

9

परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ ।

10

बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन् ।

11

यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने?

12

धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।

13

यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

14

तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

15

तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।

16

ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”