1

¶ कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।

2

देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ ।

3

एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।

4

व्यवस्था त्याग्‍नेहरूले दुष्‍ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् ।

5

खराब मानिसले न्यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ ।

6

आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।

7

व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ ।

8

धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

9

कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।

10

सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।

11

धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।

12

धर्मीहरू विजय हुँदा ठुलो महिमा हुन्छ, तर दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्‍न थाल्छन् ।

13

आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ ।

14

सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्‍टमा पर्ने छ ।

15

गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ ।

16

समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।

17

कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।

18

निष्‍ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।

19

आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।

20

विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।

21

पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।

22

कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।

23

फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ ।

24

आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ ।

25

लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ ।

26

आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।

27

गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।

28

दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्‍ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।