1

¶ याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:

2

निश्‍चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन ।

3

मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।

4

स्वर्ग उक्लेर को तल झरेको छ र? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? निश्‍चय नै तँलाई थाहा होला!

5

परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।

6

उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् ।

7

म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्‍नुहोस् ।

8

व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।

9

किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।

10

मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्‍ने छ, र तँ दोषी बन्‍ने छस् ।

11

आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

12

आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।

13

अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ ।

14

यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।

15

जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्‍च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।

16

पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्‍ने आगो ।

17

बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।

18

तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ:

19

आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।

20

व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”

21

तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः

22

राजा भएको नोकर, खानाले टन्‍न अघाएको मूर्ख,

23

विवाह गर्ने माया नपाएकी स्‍त्री र आफ्नी मालिक्‍नीलाई पन्छाएर उक्त ठाउँमा बस्‍ने नोकर्नी ।

24

पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:

25

कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् ।

26

शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् ।

27

सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् ।

28

छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् ।

29

तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्:

30

सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।

31

शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।

32

आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।

33

जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्‍किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ ।