1

¶ परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर ।

2

उहाँको निम्ति गाओ । उहाँको स्‍तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन ।

3

उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस् ।

4

परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्‍तर खोजी गर ।

5

उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,

6

ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।

7

उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् ।

8

उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

9

आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

10

यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो ।

11

उहाँले भन्‍नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।”

12

तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो ।

13

तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए ।

14

उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो ।

15

उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।”

16

उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्‍द गर्नुभयो ।

17

उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।

18

तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,

19

तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्‍यो ।

20

तिनलाई मुक्‍त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्‍त गरे ।

21

उनले तिनलाई आफ्‍नो सारा सम्पत्तिको शासकको रूपमा आफ्‍नो दरवारको निरीक्षक बनाए,

22

तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।

23

त्‍यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे ।

24

परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो ।

25

उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।

26

आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।

27

तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे ।

28

उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।

29

उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।

30

तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए ।

31

उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए ।

32

तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो ।

33

उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो ।

34

उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए ।

35

सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए ।

36

तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो ।

37

उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन ।

38

तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।

39

उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो ।

40

इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो ।

41

उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्‍यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।

42

किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो ।

43

आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।

44

उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,

45

ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर ।