1

¶ परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्‍छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।

2

इस्राएलले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”

3

हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”

4

बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”

5

मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।

6

परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?

7

परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।

8

मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।

9

कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।

10

सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।

11

तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।

12

तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।

13

तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।

14

परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।

15

धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।

16

परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।

17

म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।

18

परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।

19

मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।

20

यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्‍छ ।

21

म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।

22

निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।

23

यो परमप्रभुको काम हो । यो हाम्रा दृष्‍टिमा अचम्‍मको कुरा हो ।

24

यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।

25

हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!

26

परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं ।

27

परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।

28

तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।

29

परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।