1

¶ खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्‍यसका आँखामा परमेश्‍वरको भय नै हुँदैन ।

2

किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।

3

त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

4

त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।

5

हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तता आकाशसम्म नै पुग्छ । तपाईंको निष्‍ठा बादलसम्म पुग्छ ।

6

तपाईंको धार्मिकता परमेश्‍वरको पर्वतजस्‍तो छ । तपाईंका न्यायहरू गहिरा सागरजस्ता छन् । हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्छ ।

7

हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्तता कति मूल्यवान छ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ ।

8

तपाईंको मन्‍दिरको प्रशस्‍ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ ।

9

किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं ।

10

तपाईंलाई चिन्‍नेहरूलाई तपाईंको करारको विश्‍वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस् ।

11

अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्‍टका हातले मलाई खेद्‍न नदिनुहोस् ।

12

त्यहाँ खराबी गर्नेहरू ढलेका छन् । तिनीहरूलाई पछारिएको छ र उठ्न सक्‍दैनन् ।