1

¶ हे परमेश्‍वर, मेरो प्रार्थनामा कान थाप्‍नुहोस् । मेरो बिन्‍तीबाट आफूलाई नलुकाउनुहोस् ।

2

मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्‍टमा मलाई विश्रम हुँदैन ।

3

मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

4

मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।

5

डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।

6

मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।

7

हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्‍थानमा बस्‍ने थिएँ । सेला

8

आँधी र हुरीबाट बच्‍न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”

9

हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्‍याउनुहोस्! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।

10

दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।

11

यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।

12

किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।

13

तर यो त त्‍यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।

14

हामीले एकसाथ मीठो सङ्गति गर्थ्‍यौं । भीडको साथमा हामी परमेश्‍वरको भवनमा जान्‍थ्‍यौं ।

15

तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ ।

16

मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।

17

साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्‍नुहुनेछ ।

18

मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।

19

परमेश्‍वर, जसले अनन्‍तदेखि राज्‍य गर्नुहुन्‍छ उहाँले तिनीहरूका कुरा सुन्‍नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्‍वरको भय मान्दैनन् ।

20

मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्‍नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।

21

उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्‍यसको हृदय शत्रुतापूर्ण थियो । त्‍यसका शब्दहरू तेलभन्दा पनि चिल्‍ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए ।

22

आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न ।

23

तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।