1

¶ हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।

2

दृष्‍टान्तमा म आफ्‍नो मुख खोल्नेछु । विगतका गुप्‍त कुराको बारेमा म गीत गाउनेछु ।

3

हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।

4

तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्‍मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं ।

5

किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।

6

उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ ।

7

तब तिनीहरूले आफ्‍नो आसा परमेश्‍वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।

8

तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् ।

9

एफ्राइमीहरू धनुले सुसज्‍जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।

10

तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।

11

तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से ।

12

मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।

13

उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।

14

दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो ।

15

उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।

16

चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।

17

तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।

18

आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए ।

19

तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र?

20

हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?”

21

जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो,

22

किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।

23

तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।

24

तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो ।

25

मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो ।

26

उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो ।

27

धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।

28

तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।

29

त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।

30

तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।

31

तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तिमध्येका बलियाहरूलाई मार्‍यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।

32

यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् ।

33

यसकारण परमेश्‍वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।

34

जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्‍सुकतासाथ खोजे ।

35

परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।

36

तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।

37

किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् ।

38

तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन । हो, धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।

39

तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।

40

उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!

41

तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।

42

तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो,

43

जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो ।

44

उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् ।

45

उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो ।

46

तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो ।

47

तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो ।

48

तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्‍नुभयो ।

49

उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो । उहाँले क्रोध, रिस र समस्‍यालाई विपत्ति ल्याउने एजेन्‍टझैं पठाउनुभयो ।

50

आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो ।

51

मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।

52

आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।

53

सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।

54

त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो ।

55

तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।

56

तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।

57

तिनीहरू अविश्‍वासयोग्य भए र आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।

58

किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।

59

जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।

60

शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो ।

61

उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो र आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।

62

उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्‍पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।

63

आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्‍म पारे, र तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन ।

64

तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।

65

अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।

66

उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।

67

उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन ।

68

उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।

69

उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।

70

उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

71

आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।

72

आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।