1

¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

2

पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।

3

तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्‍नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”

4

किनकि तपाईंको दृष्‍टिमा हजार वर्षचाहिं बितेर जाँदा हिजोको दिन र रातको एक पहरजस्तै हो ।

5

तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ।

6

बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

7

साँच्‍चै, हामी तपाईंको रिसमा नष्‍ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं ।

8

तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।

9

हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ । हाम्रो वर्षहरू सुस्‍सकेराझैं बित्छ ।

10

हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।

11

तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?

12

त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।

13

हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।

14

बिहान हामीलाई तपाईंको करारको विश्‍वस्‍तताले सन्‍तुष्‍ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्‍दित र खुसी हुन सकौं।

15

हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।

16

तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् ।

17

परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।