Verse 19

त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।

Referenced Verses

  • Rev 4:1-9 : 1 ¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।” 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो । 3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो । 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए । 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए । 6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए । 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो । 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे । 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, 11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
  • Rev 1:11-2:3 : 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।” 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ । 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो । 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए । 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो । 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो । 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् । 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख । 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।” 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् । 2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ । 3 मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।