1

¶ यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।

2

यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।

3

किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।

4

किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।

5

त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।

6

हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।

7

यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।

8

यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् ।

9

प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।

10

दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।

11

लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।

12

तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो ।

13

विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।

14

तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।

15

आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।

16

एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।

17

खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।

18

सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।

19

प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ ।

20

“तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।”

21

खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।