1

¶ तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन् ।”

2

त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

3

दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?

4

तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”

5

दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।

6

जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।

7

दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ

8

युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए ।

9

शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”

10

तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ ।

11

के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”

12

तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”

13

तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।

14

दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा, जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन ।

15

शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए ।

16

तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्‍वरमा तिनको हातलाई बलियो बनाए ।

17

उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।”

18

तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।

19

त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र?

20

अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ ।”

21

शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ ।

22

जाओ, अझै पक्‍का गर । तिनको लुक्‍ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ । ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ ।

23

त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु ।”

24

तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्‍थानमा थिए ।

25

शाऊल र उनका मानिसहरू तिनलाई खोज्‍न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्‍थानमा बसे । जब शाऊलले त्‍यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्‍थानमा लखेटे ।

26

शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए,

27

एक जना दूत शाऊलकहाँ आयो र भन्‍यो, “छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्‍तीहरूले देश लुटेका छन् ।”

28

त्यसैले शाऊल दाउदलाई खेद्‍न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए । यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो ।

29

त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।