1

¶ दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।

2

सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।

3

अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि त्‍यहाँ परमेश्‍वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्‍थानमा बनाएका थिए ।

4

तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।

5

साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो । सोलोमन र त्‍यो सभा त्‍याहाँ गए ।

6

सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीमा गए र त्‍यसमा एक हजार होमबलि चढाए ।

7

त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “माग्, म तँलाई के दिऊँ?”

8

सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ ।

9

अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।

10

अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्‍व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”

11

परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।

12

अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”

13

तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।

14

सोलोमनले रथहरू र घोडचढीहरू जम्‍मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्‍ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।

15

राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्‍जीरहरूजस्तै प्रशस्‍त तुल्‍याए ।

16

सोलोमनका घोडाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। तिनका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे ।

17

तिनीहरूले प्रत्‍येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।