1

¶ अबिया आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो ।

2

आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठिक थियो त्‍यही गरे,

3

किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्‍बाहरू भत्‍काइदिए, र अशेरा देवीका खम्‍बाहरूलाई ढालिदिए ।

4

तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्‍यवस्‍था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।

5

साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्‍ति पायो ।

6

तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।

7

किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्‍यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।

8

आसाका ढाल र भालाहरू बोक्‍ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्‍यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्‍ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।

9

कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।

10

तब आसा उनको सामना गर्न निस्‍केर आए, र मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।

11

आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”

12

यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।

13

आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्‍म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्‍ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।

14

फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।

15

फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।