1

¶ परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो । हेर, बसन्‍त ऋतुको बाली मौलाउनै लाग्‍दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, योचाहिं राजाको कटनी पछिको बाली थियो ।

2

जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्‍यसपछि मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”

3

परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्‍नुभयो, “यस्तो हुनेछैन ।”

4

अनि परमप्रभु परमेश्‍वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्‍वरले न्याय गर्नलाई आगो बोलाउनुभयो । त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भष्‍म पार्न सक्थ्यो ।

5

तर मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया रोक्‍नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”

6

परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “यो पनि हुनेछैन ।”

7

उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो ।

8

परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल ।” परमप्रभुले भन्‍नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्‍नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

9

इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”

10

तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्‍दैन ।

11

किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”

12

अमस्‍याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।

13

तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”

14

अनि आमोसले अमस्‍याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु ।

15

तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’

16

अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

17

यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”