1

¶ फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे ।

2

ती दिनहरूमा म दानिएल, तिन हप्‍तासम्म शोक गरिरहें ।

3

तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।

4

पहिलो महिनाको चौबीसौं दिनमा, जब म त्यो विशाल नदी (अर्थात् टाइग्रिस) को छेउमा थिएँ,

5

मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।

6

तिनको शरीर पीतमणिजस्‍तो र तिनको अनुहार बिजुलीजस्‍तो थियो । तिनका आँखा बलिरहेका राँकोजस्‍ता थिए, र तिनका हात र खुट्टाहरू टल्‍काइएका काँसाजस्‍तै थिए । तिनको वचन आवाज एउटा ठुलो भीडको जस्‍तो थियो ।

7

म, दानिएल एक्‍लै त्यो दर्शन देखें, किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् । तपनि, तिनीहरूमा एउटा ठुलो त्रास पर्‍यो, र तिनीहरू आफू लुक्‍नलाई भागे ।

8

यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखें । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन ।

9

तब मैले तिनका शब्‍दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ ।

10

मलाई एउटा हातले छोयो, र त्‍यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो ।

11

ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्‍मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सिधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा, थरथर काम्दै म उठें ।

12

अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।

13

तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्‍यो, र मलाई एक्‍काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।

14

तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”

15

जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।

16

मानिसका पुत्रजस्‍तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्‍नो मुख खोलें र मेरो सामु हुनेसँग बात गरें, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन ।

17

म तपाईंको सेवक हुँ । कसरी म आफ्‍नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्‍दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।”

18

मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए ।

19

तिनले भने, “ए धेरै सम्‍मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस्! अब शाहसी होऊ, बलियो होऊ!” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।”

20

तिनले भने, “म तिमीकहाँ किन आएँ के तिमीलाई थाहा छ? म छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु । म गएपछि, ग्रीसका राजकुमार आउनेछन् ।

21

तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन् ।”