1

¶ उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्‍छौ, तब तिमीहरूले परमप्रभुको निम्‍ति एउटा जग्‍गा अलग गर्नू । यो दानको जग्‍गा पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्यो र त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ ।

2

यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ ।

3

यस क्षेत्रबाट तिमीहरूले पच्‍चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्‍नू । त्योचाहिं पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ ।

4

योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।

5

यसरी त्यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।

6

सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो होस् । त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ ।

7

शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।

8

यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।

9

परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

10

तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ!

11

एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ ।

12

शेकेलचाहिं बिस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ ।

13

तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।

14

तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।

15

इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

16

देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।

17

चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।

18

परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।

19

पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्‍दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।

20

हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चत गर्नेछौ ।

21

पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।

22

त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।

23

सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।

24

अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।

25

सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्‍नबलि, र तेलको बलि ।