1

¶ आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन् । उनले याकूबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रभने म मर्नेछु ।”

2

राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्‍नु हुने म परमेश्‍वरको स्थानमा छु र?

3

उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”

4

त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।

5

बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।

6

त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् ।

7

राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।

8

राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्‍ताली राखिन् ।

9

आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् ।

10

लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।

11

लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् ।

12

त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।

13

लेआले भनिन्, “म सुखी छु । किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।

14

गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए, र तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए । त्यसपछि राहेलले लेआलाई भनिन्, “तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ ।”

15

लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्‍नेछन् ।”

16

साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्‍नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते ।

17

परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।

18

लेआले भनिन्, “परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् ।

19

लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।

20

लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।

21

त्यसपछि उनले एउटी छोरी जन्माइन् र त्यसको नाउँ दीना राखिन् ।

22

परमेश्‍वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्‍नुभयो । उहाँले उनको गर्भ खोलिदिनुभयो ।

23

उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ ।”

24

उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”

25

राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “मलाई बिदा दिनुहोस्, ताकि म मेरो आफ्नै घर र मेरो देशमा जान सकूँ ।

26

मलाई मेरा पत्‍नीहरू र मेरा छोराछोरीहरू दिनुहोस् जसको निम्ति मैले तपाईंको सेवा गरेको छु । मलाई जान दिनुहोस् किनकि मैले तपाईंको सेवा गरेको त तपाईंलाई थाहै छ ।”

27

लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ ।

28

त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”

29

याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ ।

30

म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”

31

त्यसैले लाबानले भने, “म तिमीलाई के दिऊँ?” याकूबले भने, “तपाईंले मलाई केही पनि दिनुपर्दैन । तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ ।

32

आज मलाई तपाईंको बगालबाट थुमाहरूका बिचमा हरेक थोप्ले, हरेक पेटारे र हरेक कालो अनि बाख्राहरूका बिचमा पनि हरेक थोप्ले र पेटारे छुट्‌ट्याउन दिनुहोस् । यी मेरा ज्याला हुनेछन् ।

33

तपाईं मेरा ज्यालाको हिसाब गर्न आउनुहुँदा पछि मेरो सत्यनिष्‍ठा‌ले नै मेरो गवाही दिनेछ । बाख्राहरूका बिचमा थोप्ले र पेटारे नभएको अनि थुमाहरूका बिचमा कालो नभएको मध्ये कुनै फेला पारियो भने ती मैले चोरेको ठहरिनेछ ।”

34

लाबानले भने, “हुन्छ । तिम्रो वचनअनुसार नै होस् ।”

35

त्यस दिन लाबानले थोप्ले र पेटारे बाख्राहरू अनि सेतो दाग भएका सबै थोप्ले र पेटारे बाख्रीहरू अनि थुमाहरूका बिचमा भएका सबै काला थुमाहरू छुट्‌ट्याए र ती आफ्ना छोराहरूलाई दिए ।

36

लाबानले तिनी र याकूबको बिचमा तिन दिनको यात्राको अन्तर पनि राखे । त्यसैले याकूबले लाबानका बाँकी बगालहरू चराइरहे ।

37

याकूबले ताजा लहरे-पीपल, हाडे बदाम र चिनारका रुखका भर्खरै काटिएका हाँगाहरू लिए, र तिनमा सेतो धर्का बनाउनलाई बोक्राहरू ताछे ।

38

त्यसपछि तिनले बगालहरूको सामु रहेका ती ताछिएका हाँगाहरू पानी पिउन आउने डूँडको सामु राखे । पानी पिउन आउँदा तिनीहरू गर्भवती भए ।

39

ती बगालहरू हाँगाहरूका सामुन्‍ने मिसिने भएकाले तिनीहरूले पाठापाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए ।

40

याकूबले यी थुमाहरूलाई छुट्‌ट्याए, तर बाँकी बगाललाई चाहिँ छिर्केमिर्के जनावरहरूतिर फर्काएर राखे अनि सबै काला थुमालाई चाहिँ लाबानको बगालमा राखिदिए । त्यसपछि तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे र लाबानको बगालसित मिसाएनन् ।

41

बलिया भेडाहरू मिसिँदा याकूबले बगालहरूका सामुन्‍ने डूँडमा ती हाँगाहरू राखिदिन्थे ताकि तिनीहरू हाँगाहरूकै बिचमा गर्भवती होऊन् ।

42

तर बगालमा भएका कमजोर जनावरहरू आउँदा तिनले तिनीहरूको सामु हाँगाहरू राख्दैनथ्ये । यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए ।

43

याकूबले ज्यादै उन्‍नति गरे । तिनका ठुला-ठुला बगालहरू, नोकर-चाकरहरू ऊँटहरू र गधाहरू थिए ।