1

¶ अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?”

2

तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”

3

योसेफका दस जना दाजु मिश्रमा अनाज किन्‍नका लागि गए ।

4

तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए ।

5

किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।

6

योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

7

योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।”

8

योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् ।

9

त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”

10

तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।

11

हामी इमानदार मानिसहरू हौँ । हामी तपाईंका दासहरू जासुस होइनौँ ।”

12

तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”

13

तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”

14

योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ ।

15

यसैद्वारा तिमीहरूको जाँच हुनेछ । फारोको शपथ खाएर म भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ ।

16

तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ । तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ ।”

17

तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे ।

18

तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु ।

19

तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ । तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ ।

20

तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे ।

21

तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ । त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो ।”

22

रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ ।

23

योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो ।

24

तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे ।

25

त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।

26

आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे ।

27

विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो ।

28

तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?”

29

तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

30

“त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने ।

31

हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ । हामी जासुस होइनौँ ।

32

हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'

33

त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।

34

तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस' ।”

35

तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता

36

याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”

37

रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।”

38

याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”