1

¶ दारा राजाको दोस्रो बर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,

2

“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यी मानिसहरू भन्छन्, ‘हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन’ ।”

3

त्यसपछि अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,

4

“यो मन्दिर ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्‍ने समय हो?

5

यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ!

6

तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्‍त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्‍न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।”

7

सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।

8

माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्‍नुहुन्छ ।”

9

“तिमीहरूले धेरै कुराको खोजी गर्‍यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्‍नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।

10

यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।

11

मैले भूमि, पर्वतहरू, अन्‍न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु ।”

12

अनि शालतिएलका छोरा यरुबाबेल, र येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले, बाँकी रहेका सबै मानिसका साथमा तिनीहरूका परमेश्‍वर परमप्रभुको आवाज र अगमवक्ता हाग्‍गैका वचनलाई पालन गरे, किनभने तिनीहरूका परमेश्‍वर परमप्रभुले तिनलाई पठाउनुभएको थियो र मानिसहरूले परमप्रभुको भय मान्थे ।

13

त्यसपछि परमप्रभुका समाचारवाहक, हाग्‍गैले मानिसहरूलाई यसो भनी परमप्रभुको सन्देश सुनाए, “म तिमीहरूसँग छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।”

14

यसकारण परमप्रभुले यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, येहोसादाकका छोरा प्रधान पुजारी यहोशू, र सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो, अनि तिनीहरू गए र तिनीहरूका परमेश्‍वर सेनाहरूका परमप्रभुको भवनमा काम गरे ।

15

दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो ।