1

¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

2

“इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने, त्यसको मूल्य यसरी निर्धारण गर्नू ।

3

बिसदेखि साठी वर्षसम्मको पुरुषको लागि पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल मूल्य तोकिदिनू ।

4

सोही उमेरको स्‍त्रीको निम्ति भने मूल्य तिस शेकेल होस् ।

5

पाँच वर्षदेखि बिस वर्षसम्मको पुरुषको लागि मूल्य बिस शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।

6

एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल र स्‍त्रीको लागि तिन शेकेल निर्धारण गर्नू ।

7

साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।

8

तर प्रतिज्ञा गर्ने मानिसले तोकिएको मूल्य तिर्न सकेन भने, त्यो मानिस पुजारीकहाँ प्रकट गरियोस्, र पुजारीले भाकल गर्ने मानिसको क्षमताअनुसार मूल्य निर्धारण गरिदिने छ ।

9

यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ ।

10

त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् ।

11

तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।

12

पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ ।

13

यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्‍यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् ।

14

जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ ।

15

तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ ।

16

यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ ।

17

यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ ।

18

तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् ।

19

यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ ।

20

तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।

21

त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ ।

22

यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,

23

पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् ।

24

पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ ।

25

सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ ।

26

पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो ।

27

यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् ।

28

तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।

29

नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ ।

30

भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ ।

31

यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् ।

32

बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।

33

गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”

34

परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।