¶ त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्तिस्मा-दिने यूहन्ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्तिहरूले उनमा काम गरिरहेका छन् ।”
किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए ।
किनकि यूहन्नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु तपाईंको निम्ति उचित छैन ।”
हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्नालाई अगमवक्ता मान्थे ।
तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन् ।
त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।
आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्तिस्मा-दिने यूहन्नाको शिर दिनुहोस् ।”
राजा तिनको बिन्तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।
हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए ।
अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् ।
अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून् ।”
तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।”
अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।
तिनीहरू सबैले खाए र टन्न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।
उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो ।
उहाँले भिडलाई पठाइसक्नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो ।
तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो ।
बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो ।
जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले ।
तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”
पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।”
येशूले भन्नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे ।
तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्न थाले, उनले चिच्च्याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!”
येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्नुभयो र उनलाई भन्नुभयो, “ए अल्पविश्वासी! तिमीले किन शङ्का गर्यौ?”
त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।
त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”
जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो ।
जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।
तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।