1

¶ त्यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे । कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्यसमा लेखिएको भेट्टाइयो ।

2

किनकि तिनीहरू रोटी र पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन्, तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए । तथापि हाम्रा परमेश्‍वरले सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो ।

3

तिनीहरूले व्यवस्था सुन्‍नेबित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीबाट अलग गराए ।

4

अब योभन्दा पहिले पुजारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्दिरका भण्डार-कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए । तिनको तोबियासित सम्बन्ध थियो ।

5

एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

6

तर यी सबै समयमा म यरूशलेममा थिइनँ । किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तिसौँ वर्षमा म राजाकहाँ गएको थिएँ । केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ,

7

र म यरूशलेम फर्कें । परमेश्‍वरको मन्दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार-कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ ।

8

म सार्‍हैँ रिसाएँ, र मैले भण्डार-कोठाबाट तोबियाका सबै सरसामानहरू फालिदिएँ ।

9

भण्डार-कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ, अनि मैले परमेश्‍वरका मन्दिरका सामानहरू, अन्‍नबलिहरू र धूप फेरि त्यहाँ राखेँ ।

10

लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ, अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहे छन् भनी मैले थाहा पाएँ ।

11

त्यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ, “परमेश्‍वरको मन्दिरलाई किन बेवास्ता गरिएको?” मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ ।

12

तब सारा यहूदाले अन्‍नको दशांश, नयाँ दाखमद्य र तेल भण्डार-कोठाहरूभित्र ल्याए ।

13

मैले पुजारी शेलेम्याह, शास्‍त्री सादोक र लेवीहरूबाट पदायाहलाई भण्डार-कोठाहरूको कोषाध्यक्षको रूपमा नियुक्त गरेँ । जक्‍कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायकको रूपमा नियुक्त गरेँ किनकि तिनीहरू भरोसायोग्य ठानिएका थिए । तिनीहरूका सहायकहरूका खानेकुराहरू वितरण गर्नु नै तिनीहरूको कर्तव्य थियो ।

14

हे मेरा परमेश्‍वर, यस विषयमा मेरो सम्झना गर्नुहोस्, अनि मेरा परमेश्‍वरको मन्दिर र यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस् ।

15

ती दिनमा मैले यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, अन्‍नका भारीहरू ल्याइरहेका, अनि दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारीहरू गधाहरूमाथि लादेर शबाथ-दिनमा यरूशलेममा ल्याएको देखेँ । त्यस दिन तिनीहरूले खानेकुरा बेच्दै थिए भनी मैले विरोध जनाएँ ।

16

यरूशलेममा बस्‍ने टुरोसका मानिसहरूले माछासाथै सबै किसिमका खानेकुरा ल्याए, अनि शबाथमा तिनीहरूले यहूदा र सहरका मानिसहरूलाई ती चिजहरू बेचे ।

17

तब मैले यहूदाका मानिसहरूको सामना गरेँ, “शबाथ-दिनलाई अपवित्र पारी तपाईंहरूले यो दुष्‍ट काम गर्नुको अर्थ के हो?

18

के तपाईंहरूका पुर्खाहरूले यसै गरेका होइनन् र? के हाम्रा परमेश्‍वरले हामी र हाम्रो सहरमाथि यी सबै खराबी ल्याउनुभएको होइन र? अब शबाथलाई अपवित्र पारी तपाईंहरूले इस्राएलमाथि अझै धेरै क्रोध ल्याउँदै हुनुहुन्छ ।”

19

शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।

20

सबै किसिमका सामान ल्याउने र बेच्नेहरूले एक-दुई पटक यरूशलेमबाहिरै छाउनी हाले ।

21

तर मैले तिनीहरूलाई चेताउनी दिएँ, “तपाईंहरू किन पर्खालबाहिर छाउनी हाल्नुहुन्छ? तपाईंहरूले फेरि यसो गर्नुभयो भने म तपाईंहरूलाई कारबाही गर्ने छु ।” त्यस समयदेखि तिनीहरू शबाथमा आएनन् ।

22

तब मैले लेवीहरूलाई आ-आफूलाई शुद्ध पारी शबाथलाई पवित्र पार्न प्रवेशद्वारहरूको पहरा दिनू भनी आज्ञा दिएँ । हे मेरा परमेश्‍वर, मप्रति तपाईंको करारको बफादारीको कारणले यसको लागि पनि मलाई सम्झनुहोस्, र मलाई दया देखाउनुहोस् ।

23

ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ ।

24

तिनीहरूका सन्तानमध्ये आधाले अश्दोदको भाषा बोल्थे । तिनीहरूमध्ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो, तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे ।

25

मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, “तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू ।

26

के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने?”

27

प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ । त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ ।

28

हे मेरा परमेश्‍वर, तिनीहरूलाई सम्झनुहोस्, किनकि तिनीहरूले पुजारीको पद, यसको करार र लेवीहरूलाई दुषित पारेका छन् ।

29

यसरी मैले तिनीहरूलाई हरेक विदेशीबाट शुद्ध पारेँ, अनि पुजारीहरूसाथै लेवीहरूलाई तिनीहरूको आ-आफ्नै कर्तव्यमा स्थापित गराएँ ।

30

मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।

31

हे मेरा परमेश्‍वर, सदासर्वदा मेरो सम्झना गर्नुहोस् ।