1

¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

2

“इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् ।

3

लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ ।

4

तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ, जहाँ मैले तँलाई भेट्छु ।

5

मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।”

6

यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो ।

7

त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे ।

8

अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो!

9

मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए ।

10

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।”

11

मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।

12

इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ! हामी सबै नष्‍ट हुनेभयौ!

13

परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ?”