1

¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

2

“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।

3

तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ ।

4

कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ ।

5

छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ ।

6

तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।

7

तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ ।

8

तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ । टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।

9

तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ ।

10

तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ ।

11

तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ ।

12

तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ ।

13

तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ ।

14

तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ ।

15

जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो ।

16

पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।”

17

परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

18

“कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ ।

19

तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

20

तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।”

21

परमप्रभु फेरि मोशासँग बोल्नुभयो,

22

“गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् ।

23

तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर् ।

24

गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो । तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्‍नुपर्छ ।

25

तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू,

26

तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्‍नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून

27

र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् ।

28

यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो । पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ ।

29

तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,

30

तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला । भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर् ।

31

यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो । तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू,

32

यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ ।

33

तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”

34

मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।

35

तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे । तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे ।

36

तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।

37

मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

38

गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने

39

तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे ।

40

आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।

41

मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

42

मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,

43

तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे ।

44

आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।

45

मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

46

यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

47

परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्‍न सक्‍ने सबैको गन्ती गरे ।

48

तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।

49

परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।