1

¶ विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।

2

बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

3

परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।

4

निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ ।

5

मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

6

धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।

7

बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।

8

परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।

9

परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।

10

कठोर अनुशासनले आफ्नो बाटो त्याग्‍नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।

11

पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला?

12

गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ । त्यो बुद्धिमान्‌कहाँ जाँदैन ।

13

आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।

14

विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।

15

थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।

16

भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।

17

घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।

18

रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।

19

अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।

20

बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।

21

मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

22

सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।

23

उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

24

जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।

25

परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।

26

परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।

27

चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।

28

जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।

29

दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ ।

30

आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।

31

कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।

32

अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।

33

परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।