1

¶ हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।

2

किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।

3

करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।

4

तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।

5

तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।

6

तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।

7

तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।

8

यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।

9

तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।

10

तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।

11

हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।

12

किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।

13

बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।

14

तैँले बुद्धिबाट प्राप्‍त गर्ने कुरो चाँदीबाट प्राप्‍त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।

15

बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।

16

बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।

17

त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।

18

बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्‍नेहरू खुसी हुन्छन् ।

19

बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।

20

उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।

21

हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।

22

ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन् ।

23

तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन ।

24

तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ ।

25

दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।

26

किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।

27

तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।

28

तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”

29

तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।

30

तँलाई कसैले हानि नपुर्‍याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।

31

हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् ।

32

किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ ।

33

दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।

34

उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ ।

35

बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।