1

¶ हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने,

2

तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् ।

3

हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख ।

4

आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे ।

5

सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।

6

ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।

7

त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन,

8

तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ ।

9

ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्?

10

क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले

11

गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

12

बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।

13

त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ ।

14

त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।

15

त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।

16

छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ ।

17

अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,

18

दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,

19

झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।

20

हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।

21

तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।

22

तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् ।

23

किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।

24

यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।

25

त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।

26

वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।

27

के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्‍न सक्छ?

28

के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्ग्रोमा हिँड्न सक्छ?

29

आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।

30

भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्‍यो भने मानिसहरूले त्यसलाई तुच्छ ठान्दैनन् ।

31

तापनि त्यो पक्राउ पर्‍यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ ।

32

व्यभिचार गर्ने व्यक्ति समझविनाको हुन्छ । यसो गर्नेले आफैलाई नष्‍ट पार्छ ।

33

त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।

34

किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्यसले बदला लिँदा कृपा देखाउने छैन ।

35

त्यसले कुनै क्षतिपूर्ति स्वीकार गर्ने छैन, र धेरै घुस दिए तापनि त्यसलाई किन्‍न सकिँदैन ।