1

¶ कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्‍वरको नाउँले तपाईंको सुरक्षा देऊन्

2

र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् ।

3

उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला

4

तपाईंको हृदयको इच्‍छा उहाँले तपाईंलाई पुरा गरिदेऊन् र तपाईंका सबै योजनाहरू पुरा होऊन् ।

5

अनि हामी तपाईंको विजयमा आनन्‍दित हुनेछौं र हाम्रा परमेश्‍वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्‍नुभएको होस् ।

6

परमप्रभुले आफ्‍नो अभिषिक्‍त जनलाई बचाउनुहुन्छ भनी म जान्दछु । उहाँलाई बचाउन सक्‍ने आफ्नो दाहिने हातको बलले, आफ्‍नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ ।

7

कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं ।

8

तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।

9

हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।