2शमूएलले सोधे, “म कसरी जान सक्छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
3यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
4शमूएलले परमप्रभुले भन्नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
5तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्त जन निश्चय नै तिनको सामु उभिरहेका थिए ।
7तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
8यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।”
9यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।”
10यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्नुभएको छैन ।”
11तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्नेछैनौं ।”
12यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
13अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।