27अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्ने जवान मानिसहरूलाई दिइयोस् ।
28कृपया आफ्नो दासीको अपराध क्षमा गर्नुहोस्, किनकि परमप्रभुले निश्चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ, किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको छ । र तपाईं जिवित बएसम्म तपाईंमा कुनै खराबी भेट्टाइने छैन ।
29तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्वरले जीवितहरूको मुट्ठामा बाँध्नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्नुहुनेछ ।
30परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएको छ ।
31तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।”
32दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो ।
33तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्तपात र आफ्नो निम्ति आफ्नै हातले बद्ला लिनबाट बचाएकी छ्यौ!
34किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।”
35त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, “आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।”
36अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।
37बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्यो र ऊ ढुङ्गाजस्तो भयो ।
38दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्यो ।
39जब नाबाल मर्यो भन्ने दाऊदले सुने, तिनले भने, “परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्ट कामलाई उसैको आफ्नै शिरमा खन्याउनुभएको छ ।” तब दाऊदले अबीगेललाई आफ्नी पत्नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए ।
40जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्नो पत्नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।”
41उनी उठिन्, आफ्नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।”