17जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्नुभएको थियो त्यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।
18तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।
19त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।
20येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।
21तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो ।
22येहूले पुजारीको वस्त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्त्रहरू ल्याए ।
23रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्ने कुरामा निश्चित होऊ ।”