21त्यसपछि योआबले कूशीलाई भने, “जा, तैंले जे देखेको छस् त्यो राजालाई भन् ।” कूशीले योआबलाई दण्डवत गरे र दौडे ।
22तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्न दिनुहोस् ।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ?”
23अहीमासले भने, “जेसुकै होस्, म दौडने छु ।” त्यसैले योआबले तिनलाई जवाफ दिए, “दौड ।” अनि अहीमास मैदानको बाटो हुँदै दौडे र कूशीलाई उछिने ।
24यति बेला दाऊद भित्री र बाहिरी ढोकाको बिचमा बसिरहेका थिए । रक्षा बस्ने मानिस पर्खालको छतमा गए र आफ्ना आँखाले हेरे । जसै तिनले हेरे, एक जना मानिस एक्लै दौडेर नजिक आइरहेको तिनले देखे ।
25रक्षकले ठुलो सोरले कराए र राजालाई भने । तब राजाले भने, “त्यो एकलै छ भने, त्यसको मुखमा खबर हुनुपर्छ ।” त्यो धावक नजिक आइपुगे र सहरको नजिकै आए ।
26त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे र ती रक्षकले ढोकाको पालेलाई भने, “हेर, अर्को मानिस पनि एक्लै दौडेर आइरहेको छ ।” राजाले भने, “त्यसले पनि खबर ल्याउँदै छ ।”
27त्यसैले ती रक्षकले भने, “अगिल्लो मानिसको दौडाइ सादोकका छोरा अहीमासको जस्तो छ ।” राजाले भने, “तिनी असल मानिस हुन् र राम्रो खबर लिएर आउँदै छन् ।”