36हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।
37महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।
38मानवजातिहरू बस्ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
39हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।
40त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।
41जसरी हजुरले देख्नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्नुभयो ।
42जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।
43जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन ।
44ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
45जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो । महाराजा, महान् परमेश्वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्वासयोग्य छ ।”