31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।
32तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा तैंले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।”
33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो ।
34ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
35सम्पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्न स्तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
36मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्छा गरे । मलाई आफ्नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्ता दिइयो ।
37अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्नुहुन्छ ।