16शद्रक, मेशक, र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।
17त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्न सक्नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
18तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्पसार पार्नेछैनौं ।”
19तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए ।
20तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्नगोलाई बाँध्न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।
21तिनीहरूका वस्त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो ।
22राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्यो ।
23यी तिन मानिस, शद्रक, मेशक, र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।
24अनि राजा नबूकदनेसर आश्चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्चय नै महाराजा ।”
25तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।”
26अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्नगो, अति उच्च, परमेश्वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्नगो आगोबाट बाहिर आए ।
27त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन ।
28नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्वास गरे, र आफ्ना परमेश्वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।
29त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको विरुद्ध बोल्ने कुनै जाति, राष्ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्ने अरू कुनै देवता छैन ।”
30त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमा पदोन्ननि गरिदिए ।