1¶ बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए ।
2जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्नीहरू र उप-पत्नीहरूले पिउन सकून् ।
3यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्नीहरू र उप-पत्नीहरूले ती भाँडाहरूबाट पिए ।
4तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्ना मूर्तिहरूको प्रशंसा गरे ।
5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्यसको केही भाग देख्न सक्थे ।
6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्किन थाले ।