23परमप्रभु तिमीहरूका परमेश्वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्वरलाई सधैँ आदर गर्न सिक्नू ।
24परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने,
25तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जान सक्छौ ।
26त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ ।
27तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।
28तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू ।
29लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।