11अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न छान्नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।
12तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु रमाउने छौ । तिमीहरूका बिचमा बस्ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन ।
13तिमीहरूका होमबलिहरू तिमीहरूले देख्ने हरेक ठाउँमा नचढाउन होसियार बस ।
14तर परमप्रभुले तिमीहरूका कुलबाट छान्नुहुने एउटा ठाउँमा तिमीहरूले आफ्ना होमबलिहरू चढाउनू र त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा गरेका हरेक कुरा गर्नू ।
15तथापि, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ । हरिण र मृगजस्ता प्राणीका मासुहरू शुद्ध र अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन् ।
16तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।