15जब मिश्र र कनानमा भएका सबै आफ्ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्न दिनुहोस् । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्ने हामी किन मरौँ?”
16योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्तु ल्याओ र तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिनेछु ।”
17यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न खुवाए ।
18त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्ने हामीसँग हाम्रै जिउ र जग्गाजमिनबाहेक अरू केही छैन ।
19हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्ने किन नष्ट हुने? अन्नको साटोमा हामी र हाम्रो जमिनलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्गाजमिन पनि उजाड नहोऊन् ।”