15मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्न मैले तिनीहरूलाई निरन्तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्दैनौ वा ध्यानै दिंदैनौ ।
16रेकाबका छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञा मानेका छन्, तर यी मानिसले मेरो कुरा सुन्न इन्कार गर्छन् ।'”
17त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”
18यर्मियाले रेकाबीहरूको परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ र ती सबै पालन गरेका छौ— उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ—
19त्यसैले सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'रेकाबका छोरा योनादाबको वंशमा मेरो सेवा गर्न सधैं कोही न कोही हुनेछ' ।”