11यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्टता के हो?
13यसकारण, गिबाका ती दुष्ट मानिसहरूलाई हामीलाई सुम्पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
15बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
16यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे । तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्न सक्थे र निशाना चुकाउँदैनथे ।
17बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
18इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
19इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।
20इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।
21बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।
22तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।