1

¶ तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

2

“नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।

3

तैँले यसभित्र गवाहीको सन्दुक राख्‍नू, र यसलाई पर्दाले छेक्‍नू ।

4

तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।

5

तैँले गवाहीको सन्दुकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू ।

6

तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्‍ने होमबलिको लागि वेदी राख्‍नू ।

7

तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्‍नू र त्यसभित्र पानी हाल्नू ।

8

चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।

9

तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।

10

तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।

11

तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।

12

तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।

13

मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।

14

त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।

15

पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”

16

मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।

17

यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।

18

मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।

19

परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।

20

तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले

21

सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्‍चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्‍ने पर्दा टाँगे ।

22

तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।

23

परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।

24

तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।

25

परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।

26

तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।

27

परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।

28

तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।

29

तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्‍नबलि चढाए ।

30

तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे ।

31

मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।

32

तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।

33

मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।

34

तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।

35

भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।

36

पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।

37

तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।

38

किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्‍ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।