¶ जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्वासको काम गरेका छन् ।”
जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें ।
साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्वासयोग्य कामको बारेमा इस्राएलका परमेश्वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।
तर साँझको बलिदानको समयमा आफ्नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।
मैले भने, “हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्जित र अयोग्य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
तरै पनि अब परमप्रभु हाम्रा परमेश्वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्वरले यसो गर्नुभयो ।
हामी दासहरू हौं, तर हाम्रा परमेश्वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।
तर अब हे हाम्रा परमेश्वर, यसपछि हामी के भन्न सक्छौं र? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।
ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो, “तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् ।
त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”
तापनि हाम्रो दुष्ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्छ र? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्यान्न पार्नुहुन्न र?
हे इस्राएलका परमप्रभु परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।