1

¶ ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।

2

आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्‍ना ओठको फल चढाउन सकौं ।

3

अश्‍शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्‍ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्‍छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।”

4

“तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ ।

5

इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।

6

त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।

7

त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।

8

ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्‍लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।”

9

को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।