1

¶ हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।

2

यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।

3

अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।

4

मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “यहाँ आओ र पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ ।”

5

यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।

6

त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।

7

तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।

8

परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,

9

“तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ । पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,

10

तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,

11

ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”

12

मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।

13

तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।

14

डोलाइएको छाती र परमप्रभुलाई अर्पण गरिएको फिला परमप्रभुलाई ग्रहणयोग्‍य हुने शुद्ध ठाउँमा तिमीहरूले खानू । ती भागहरू तँ र तेरा छोराछोरीहरूले खानू, किनकि इस्राएलका मानिसहरूका मेलबलिका भेटीहरूबाट ती तँ र तेरा छोराहरूको भागमा दिइएका छन् ।

15

तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”

16

त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,

17

“तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?

18

हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्‍चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”

19

त्यसपछि हारूनले मोशालाई जवाफ दिए, “हेर्नुहोस्, तिनीहरूले आज परमप्रभुको अगि पापबलि र होमबलि अर्पण गरे, अनि आज मलाई यस्तो हुन आयो । यदि मैले त्यो पापबलि खाएको भए, के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो?”

20

जब मोशाले यो सुने, उनी सन्तुष्‍ट भए ।