1

¶ परमप्रभु मोशा र हारूनसँग यसरी बोल्‍नुभयो,

2

“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन् ।

3

चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ ।

4

तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

5

अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

6

अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन ।

7

अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

8

तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।

9

पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।

10

तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।

11

ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।

12

पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।

13

तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,

14

चील, सबै प्रकारका बेसारो,

15

सबै प्रकारका काग,

16

सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।

17

तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,

18

राजहंस र धनेस, माछा खाने चील,

19

सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो ।

20

चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।

21

तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।

22

तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।

23

तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।

24

यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।

25

जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।

26

हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।

27

चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।

28

त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

29

जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,

30

गोहोरो, सालक, भालेमुङ्‍रो, बालुवाको छेपारो, र रङ्ग बदल्‍ने छेपारो ।

31

घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् ।

32

तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

33

यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू ।

34

कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।

35

जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।

36

जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।

37

यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।

38

तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

39

तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।

40

त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।

41

जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।

42

आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।

43

कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।

44

किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।

45

किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।

46

सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,

47

जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”