1

¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

2

“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।

3

आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।

4

त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।

5

तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।

6

त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।

7

त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्‍त्रीको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यो आफ्नो रक्‍तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्‍त्रीको निम्ति विधि यही नै हो ।

8

यदि त्यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”