16दाऊदले मास्तिर हेरे र परमप्रभुका स्वर्गदूतले आफ्नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्वीका बीचमा खडा भएको देखे । तब भाङ्ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्टो परे ।
17दाऊदले परमेश्वरलाई भने, “सेनाको गन्ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।
19यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्यहाँ उक्लेर गए ।
20अरौनाले आफ्नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए ।
21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्नो अनुहार भुइँमा घोप्टो पारेर दाऊदको अघि घुँडा टेके ।
22तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।”
23अरौनाले दाऊदलाई भने, “त्यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्ति गोरुहरू, दाउराको निम्ति काठहरू र अन्नबलिको निम्ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।”