1¶ त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
2परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
3यसकारण अब मानिसहरूले सुन्ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
4परमप्रभुले गिदोनलाई भन्नुभयो, “मनिसहरू अझै पनि ज्यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”
5यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”
6तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।
7परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
8यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
9त्यो रात परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।